सम्पूर्णमा नमस्कार
म हेटौडा उपमहानगरपालिका वार्ड नं. १२ मकवानपूरमा बस्ने निशा कट्टेल ग्रामीण महिला सेवा केन्द्र र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा संचालित नेतृत्व र निर्णय परियोजना (Lead and Decide Program) अन्तरगत हेटौडा उपमहानगरपालिकाको वार्ड नं १२ र १३ कार्यक्षेत्रको सामाजिक परिचालक हँु ।
नेतृत्व र निर्णय परियोजना (Lead and Decide Program)अन्तरगत प्लान नेपालको आयोजना र काठमाडौँ तालिम केन्दको सहजीकरणमा ३ दिनको सामाजिक परिचालन र ३ दिनको सहजीकरण सीप सम्बन्धी तालिम हेटौडाको होटल एभोकाडोमा लिने अवसर पाएको थिएँ । तालिम प्रशिक्षक राजबहादुर गिरी र पदमा शाक्यले उक्त तालिमको सहजीकरण गर्नु भएको थियो ।
सामाजिक परिचालन तालिम लिनुपूर्व यस विषयवस्तु सम्बन्धी राम्रो ज्ञान तथा सीप नभएको कारणले समुदायमा कार्यक्रम संचालन गर्दा जटिल शब्दहरुको प्रयोग गरी संचालन गर्थे जसले गर्दा धेरै कठिन अनुभव हुन्थ्यो । समाजमा रहेको मानिसहरुलाई परिचालन गरी कार्य गर्दा सहज हुने रहेछ भन्ने कुरा बारे राम्रो नबुझेको कारणले विभिन्न समस्याहरु आउथ्यो । मैले यस सामाजिक परिचालन तथा सहजीकरण सीप तालिम लिएपछि समुदायमा काम गर्न धेरै सजिलो भएको छ । जस्तो कि हामीले सहजीकरण गर्दा सरल शब्दको प्रयोग गर्ने, हरेक क्षेत्रका व्यक्तिहरुसंग साझेदारी गरेर काम गर्दा सहज हुने, वडाको जनप्रतिनिधि, समाजमा रहेका मुख्य व्यक्तिहरु, संचार कर्मीहरुसंग साझेदारी गरी काम गर्दा काममा सजिलो हुने रहेछ । सामाजिक परिचालन तालिममा सामाजिक परिचालनका धेरै सिद्धान्तहरु हुने रहेछन् जस्तै संगठन विकास, पूँजी परिचालन, सीप विकास, प्रविधि प्रवद्र्धन, वातावरण व्यवस्थापन, समुदाय सशक्तिकरण इत्यादि कुरालाई ध्यानमा राखी काम गरियो भने सजिलो हुने रहेछ ।
सामाजिक परिचालन भनेकै स्थानीय स्तरमा स्थानीय श्रोत साधनहरुको विकास तथा परिचालन गर्न स्थानीय वासिन्दालाई परिचालन गरी गर्नु पर्ने रहेछ । यसमा व्यक्तिको शारीरिक, मानसिक, सामाजिक तथा सांस्कृतिक कुनै पनि पक्षमा धक्का नदिई सकारात्मक परिवर्तन गराउनु सामाजिक परिचालकको प्रमुख उद्देश्य हो । सामाजिक परिचालक भएपछि समुदायको समस्या पहिचान गर्न सक्ने क्षमता हुनुपर्छ, सहजकर्तामा स्पष्ट बोल्ने, नेतृत्व गर्न सक्ने, मिलनसार, सकारात्मक सोँच, सहनशिल, हसिँलो आदि गुणहरु हुनुपर्दछ । यस तालिम पश्चात मैले आफ्नो कार्यक्रममा संघ, संस्था, जनप्रतिनिधिसंग गहिरो रुपमा सम्बन्ध विस्तार गरी काम गर्न थालेको छु । समुदायमा आधारित विकास, सम्पत्तिमा आधारित विकास यी दुई विषयलाई मध्येनजर गरी कार्य गर्न थालेको छु । सहजीकरण गर्ने विभिन्न माध्यमहरुलाई लिएर सहजीकरण गरेको छु । यस तालिम लिएपश्चात मलाई समुदायमा सहजीकरण गर्न धेरै सहयोग पुगेको छ ।
निशा कट्टेल
सामाजिक परिचालक
ग्रामीण महिला सेवा केन्द्र,
हेटौडा मकवानपुर