सामाजिक परिचालकदेखि मन्त्रीसम्म
रुपन्देही जिल्ला साविकको रुद्रपुर गा.वि.स वडा नं. ८ निवासी बाबा ए वहादुर सुनार र आमा खरीमाया वि.क. को कोखवाट वि.स.२०३८ साल मंसिर १५ गते जन्म भै रुद्रपुरको झारगैरा भगवती टोलमा बाल्यकाल अवस्था वित्यो । श्री मलावरमाई प्रा.वि.वाट प्राथमिक शिक्षा हासिल गरी भैसाही मा.वि.भैसाहीमा माध्यामिक तहको शिक्षा अध्ययन गरेकी थिए । दाईहरु गुल्मीमा नै बस्नुभएको कारण कक्षा १० अध्ययन गर्नकालागि श्री जनकल्याण मा.वि.फोक्सीङ्ग गुल्मी गई २०५६ सालमा एस.एल.सी.पास गरेको थिए । विचमा पढाईलाई निरन्तरता दिन नसकी दुई बर्ष पढाई रोकियो । २०५९ सालमा काठमाण्डौ तालिम केन्द्र (KTC) मा सामुदायिक विकास कार्यकर्ता -Community Development Organizer -CDO) सम्वन्धी १५ महिने कोर्षको सैद्धान्तिक तथा व्यवहारिक ज्ञानको अध्ययन गरियो । त्यसपछि ३ महिना कार्यगत तालिम (On the Job Training -OJT) को लागि जीविकोपार्जनको लागि वन कार्यक्रम (LFP) दाङ्ग जिल्लाको इलाका वन कार्यालय तुल्सीपुरमा रहेर काम गरेको थिए । OJT सकिए पछि २०६१ सालको बैशाखमा सुदुरपश्चिम बझाङ्ग जिल्ला (साविकको कैलाश गा.वि.स.)हाल जयपृथ्वी नगरपालिका वडा नं. १ का गोविन्द वि.क.संग बैवाहिक जीवनको शुरुवात भयो । जव मेरो कर्मथलो हिमाली जिल्ला बझाङ्ग बनेपछि उच्च शिक्षा अध्ययनका लागि सदरमुकाम चैनपुर नजिकैको जयपृथ्वी बहुमुखी क्याम्पसमा प्राइभेटबाट आई ए. र वि.एड. पास गरियो । जिल्लाको गरिबी, अशिक्षा, सामाजिक कुसंस्कार, महिलाहरुको जीवनशैली देख्दा मलाई काठमाण्डौ तालिम केन्द्रको सम्झना आयो ती अध्ययन गरेका, सिकेका सैद्धान्तिक ज्ञानका दिमागरुपी एल्वमलाई पल्टाई पल्टाई अध्ययन गर्न मन लाग्यो । अनि थुप्रै सम्भावनाहरु देखे र यही क्षेत्रमा काम गर्ने निणर्य गरे । हुन त ती संभावनाहरु त्यति सजिलो थिएन किनकि मेरो व्यक्तिगत जीवनशैलीसंग ती भौगोलिक विकटताका उकाली ओरालीहरु, सामाजिक रहनसहनले निकै चुनौती दिएको थियो । समाज रुपान्तरण एवं सामाजिक परिचालन सम्वन्धीको अध्ययनले मेरो आत्मवल वढाइरहेको थियो भने मेरो जीवनसाथी पनि लामो समयदेखि गैरसरकारी क्षेत्रमा कार्यरत हुनुहुन्थ्यो । म पनि पहिले रुपन्देही जिल्लामा दलित महिला संघ जिल्ला कार्य समितिको सदस्य रहेर पनि काम गरिसकेको थिए । त्यसैले पनि मलाई गैरसरकारी क्षेत्रमा काम गर्न मन लाग्यो । वि.सं. २०६२ सालमा दलित महिला संघ केन्द्रीय कार्यालय काठमाण्डौंमा बझाङ्ग जिल्लामा दलित महिला संघ खोल्ने प्रस्ताव गरे । सहमति पश्चात मेरो अध्यक्षतामा दलित महिला संघ स्थापना गर्ने निणर्य गरियो । वि.सं. २०६२ साल असोज महिनामा पारिवारिक अर्को जिम्मेवारी थपियो । सानो बच्चालाई हुर्काउनु पर्ने जिम्मेवारी एकातिर छर्दै थियो, अर्को त्यही समयमा दलित महिला संघ केन्द्रवाट नयाँ कार्यक्रमलाई संचालन गर्ने परिपत्र आयो तैपनि मैले ६ महिनाको बाबुलाई काखमा बोकेर कार्यक्रम संचालन गरेकीे थिए । तर पनि समयले साथ दिदै आयो दुवै जिम्मेवारीमा सफल भए । जिल्लामा कार्यक्रम संचालन गर्नकालागि केन्द्रवाट थोर थोरै बजेटको कार्यक्रम आउथ्योे । मैले बजेटलाई मात्र नहेरी सोही प्रकृतिका थप क्रियाकलापहरु निःशुल्क रुपमा कार्यक्रम संचालन गरेर प्रभावकारी बनाइरहेको थिए । किनकि स्थानीय श्रोत साधनलाई कसरी परिचालन गर्नु पर्दछ भन्ने कुरा मैले काठमाण्डौं तालिम केन्द्रमा अध्ययन गर्दा राम्रोसंग सिकेको थिएँ । यसरी पृथक ढंगले जिल्लामा हरेक कार्यक्रम संचालन गर्दै जादा महिलाहरुको सहभागीता उल्लेखनीय रुपमा बृद्धि हुदै गयो । जिल्लामा महिलाहरुको सहभागीता ह्वात्तै बढेको देख्दा सबै चकित हुन्थे र सोध्ने गदर्थे महिलाहरुको सहभागीता कसरी गराउनु हुन्छ ? मैले सिधै भन्ने गर्थे महिलाहरु अव गृहणी भएर मात्र बस्न चाहन्न समाज परिवर्तनकालागि नेतृत्व गर्न आतुर छन् मैले त अगुवाई तथा गोलवन्द गर्ने कार्य मात्र गरेकी छु । यसले गर्दा हरेक क्षेत्रमा मेरो सकारात्मक प्रसंशा हुन शुरु भयो । त्यही विश्वासलाई कायमगर्दै सम्पूणर् सरोकारवाला निकायहरुमा समन्वय बढाउदै गए । मेरो जीवनसाथी जयपृथ्वी बहुमुखी क्यापसमा स्ववियू उप सभापति हुनुहुन्थ्यो । वहाँले नै पार्टीको संगठित सदस्यता भरिदिनु भयो । अनि पार्टीको कार्यक्रममा सक्रिय हुदै गए र नेकपा एमालेको जिल्ला कमिटि सदस्य भएँ जिल्लामा पार्टीका कार्यक्रम हुदा महिलाहरुको क्षेत्रको जिम्मा मलाई दिनथाले । त्यसपछि अनेमसंघ केन्द्रीय कमिटि सदस्यको जिम्मेवारी प्राप्त भयो । वि.सं. २०६८ सालमा महिला जिल्ला समन्वय समितिको उपाध्यक्ष पदमा सिफारिस भएँ । जिल्लामा सामाजिक र राजनितिक क्षेत्रमा काम गर्दै गएँ । महिलाका समस्याहरुको वकालत गरिरहे जिल्लामा दुईवटा महिला हिंसाका घटनाको बारेमा आफै निवेदक तथा वादी भएर अदालतमा मुद्धा दर्ता गरेको थिएँ र पीडितलाई न्याय दिलाउन सफल भए । एकजना पीडित नानीलाई काठमाण्डौका साथी संस्थामा पुर्‍याएँ र अध्ययन गरीरहेको छ । त्यसपछि महिलाको तर्फवाट प्रतिनिधित्व गर्दै स्थानीय शान्ति समितिमा सदस्य हुदै समितिको संयोजक पदमा रही एक वर्ष काम गरेको थिएँ । वि.सं. २०७४ सालको राष्ट्रिय निर्वाचनमा जिल्ला कमिटी बझाङ्गले मेरो उच्च मुल्यांकन गर्दै प्रतिनिधि-सभा सदस्यकालागि सिफारिस गरेर पठायो । राजनैतिक खिचातानीका बाबजुद पनि वन तथा वातावरण राज्य मन्त्री हुन सफल भए । यो ऐतिहासिक अवसर प्राप्त गरी हाल प्रतिनिधि सभा सदस्य पदमा रही जनताको सेवा गर्ने मौका पाएको छु । हाल नेकपा एमाले पार्टीको जिल्ला कमिटी सदस्य, मुक्ती समाज प्रदेश कमिटि सदस्य, अनेमसंघ केन्द्रीय कमिटि सदस्यमा रहेर संगठनको कार्य गरिरहेकी छु ।

आशा कुमारी बि.क.
पूर्व वन तथा वातावरण राज्य मन्त्री
हाल प्रतिनिधि सभा सदस्य
बझाङ्ग जिल्ला